२३ असार २०८३, मंगलबार

बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतले केन्द्रीय मन्त्रीलाई पठाउँदै

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आउनुहुने भएको छ । उहाँका साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने जानकारी गराइएको छ ।

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुँदैछ । घाइते यात्रुको उपचारको लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।