
काठमाडौं, ६ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ ।
हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यसअघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।
सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखासमेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज अयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि एक कोशे ढुङ्गा भएको बताउनुभयो र सुदूरपश्चिम प्रदेश बैंकको लागि एक महत्वपूर्ण व्यवसायीक केन्द्र रहेको र आगमी दिनमा अझ उत्कृष्ट बैंकिङ्ग सेवा सुविधाहरु लिएर आउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । सुविधा सम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया