
काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का सांसद देवीप्रकाश भट्टचनले बागलुङमा पहिरोमा परेर घाइतेहरूको उपचार र विस्थापितको लागि घरबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद भट्टचनले ११ जनाको मृत्यु भएको साथै एकजना बेपत्ता रहेका जानकारी दिनुभयो । ३५ परिवार विस्थापित भएकाले उनीहरूको घरबासको व्यवस्था गर्न उहाँले माग गर्नुभएको हो ।
यी हुन् सांसद भट्टचनले उठाउनु भएका मुख्य बुँदाहरू
१. देशब्यापी रुपमा अबिरल बर्षाका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. ९ र १० मा मात्र १२५ जना बिस्थापित भएका छन् । स्थानीय सरकारको समन्वयमा राहतकार्य जारी छ । यसैगरी पहिरोमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ भने १ जनाको अवस्था अझै अज्ञात रहेको छ । अबिलम्ब बिरामीहरुको उपचार र बिस्थापित ३५ परिवारहरुको घरबासकोलागि रकम उपलब्ध गराउन सरकारसंग अनुरोध छ ।
२. मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ छुसाङ अन्र्तगतका सम्पूर्ण भू–भागहरु र वडा नं. ५ को साङ्ता गाउँलाई गृह मन्त्रालयबाट २०७६÷०३÷३० को राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित क्षेत्रको रुपमा समावेश गरिएको र स्थानीयहरुको माग बमोजिम बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालय तथा अन्य सम्बन्धित निकायहरुबाट वडा नं. ३ र ५ लाई प्रतिबन्धित क्षेत्र फुकुवा गरी खुला क्षेत्र गर्नको लागि सिफारिस समेत भईसकेकोे हुँदा गृह मन्त्रालयबाट छिटो छरितो फुकुवाको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराउँदछु ।
३. कोरला सिमामा नेपालतर्फ भौतिक संरचना शून्य भएको हुँदा भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीहरुको लागि आवास सहितको भौतिक संरचना निर्माणको कार्य यथासक्दो चाँडो पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । पर्यटकीय एबं धार्मिक दृष्टिकोणले महत्वपूर्ण कोरोला सीमाको कालीगण्डकी कोरिडोर सडक म्याग्दी देखि कोरोलामा आवश्यक बजेट उपलब्ध गराई सडक कालोपत्रे र पुलहरुको निर्माणका लागि ध्यानाकर्षण गराउँदछु ।









प्रतिक्रिया