१६ असार २०८३, मंगलबार

गणेशमान सिंहको प्रतिमा भत्काइयो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । २०४६ का जनान्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनर्स्थापनापछि लौह पुरुष उपनामले सम्बोधन गरिन्थ्यो । पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण उहाँको छवि नेपाली जनमानसमा ध्रुवतारा जस्तै चम्किलो भएको थियो । सबै राजनीतिक दलका लागि पाच्य र ग्राह्य व्यक्तित्व गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको छ ।

पूर्वपश्चिम राजमार्ग ४ लेन विस्तार गर्ने क्रममा सोनापुर चोक स्थित गणेशमान उद्यान भत्काइएको छ । प्रतिमा फण्डिसनदेखि नै उखेलेर राखिएको छ । अब यो उद्यान कहाँ बनाउने, कसले बनाउने र गणेशमान सिंहको प्रतिमा कहाँ लगेर स्थापना गर्ने कसैलाई चासो छैन । सडकको किनारमा लौह पुरुषको प्रतिमा वेवारिसे अवस्थामा फालिएको दृश्य ज्यादै कुरुप देखिन्छ । प्रतिमाको बिजोग भएको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता तथा लौह पुरुष उद्यान निर्माणमा सक्रिय रामदयाल यादव भन्नुहुन्छ, ‘२०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनु भएको थियो । मेरै घरमा बसेर कार्यकर्ताहरुसँग भेटघाट गर्नुभयो । प्रजातन्त्र पुनर्स्थापना पश्चात सुशिलचन्द्र अधिकारी, गोपाल बहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौँ । गणेशमान फाउण्डेशनबाट ३० हजार रुपैयाँ र प्रतिमा उपलब्ध गराइएको थियो । गणेशमान सिंहका सुपुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि यहाँ आएर प्रतिमामा मल्यापर्णण गर्नुभएको छ ।’

प्रजातन्त्र पुनर्स्थापना पश्चात २०५० सालमा नेपाली कांग्रेसका स्थानीय पुराना पुस्ताका कार्यकर्ताहरु गोपालबहादुर राउत, सुशिलचन्द्र अधिकारी र रामदयाल यादवको सकृयतामा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नं. ११ सोनापुर चोकमा राजमार्गसँगै प्रजातन्त्रका नायक ‘लौह पुरुष गणेशमान सिंह’को अर्धकदको प्रतिमा स्थापना गर्नुभएको थियो । सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो । मधेश आन्दोलन २०६३ मा पनि यस प्रतिमामा क्षति पुर्‍याइएको थियो ।

प्रतिमा स्थापना गर्ने मध्येका एक रामदयाल यादव भन्नुहुन्छ, ‘बडो मुस्किलले अनुनय विनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौँ । अहिले सडक विस्तार गर्ने क्रममा भताभुङ्ग पारियो ।’

गणेशमान सिंहको उद्यान निर्माता गोपालबहादु राउत उमेरले ८५ वर्ष नाघ्नुभएको छ । उहाँ यस ठाउँबाट काठमाडौं बसाईँ सर्नुभयो । उहाँ हिँडडुल गर्न सक्नुहुँदैन । त्यसकारण सोनापुर आउन असमर्थ हुनुहुन्छ । अर्का संस्थापक सुशिल चन्द्र अधिकारी अहिले राजतन्त्र पुनर्स्थापना आन्देलनमा सक्रिय हुनुहुन्छ । राम दयाल यादव भन्नुहुन्छ, ‘दशैंपछि यसको व्यवस्थापन गर्न कुनै उपाय गर्नुपर्ला ।’