
काठमाडौं, ५ भदौ । हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आमरण अनसनमा बसेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि हिजोदेखि नै आमरण अनसन सुरु गरिएको छ । अनसनकारीहरुले झमझम वर्षाको बाबजुद निराहार रहेर टेण्ट मुनी एक रात काटेका छन् ।
आमरण अनसन बस्नेहरुमा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादव, सिरहा नगरपालिकाका दुई जना वडाध्यक्षहरु इन्द्रजित यादव र समसाद आलम, औरही गाउँपालिकाकमा वडाध्यक्षद्वय सुरेन्द्र यादव र जीवछ यादव , सिरहाका भोगेन्द्र साह शैलेश यादव शिवसंकर यादव, मनिष यादव र रुपेश कुमार यादव रहनुभएको छ ।
अनसनकारी तथा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादवले भन्नुभयो ‘हामी ‘डु एण्ड डाई’ को अवस्थामा छौँ । अब कि त कमलाको पुल निर्माण गर्न सरकारले यथोचित व्यवस्था गर्छ कि हामी अन्न बिना प्राण त्याग गर्छौ । अब उधारो र ढाँटको आश्वासनले हुँदैन । तत्कालै पुल निर्माणका लागि येथेष्ट बजेट विनियोजन र निर्माण कार्यको सुरुवात गरिनुपर्छ ।’
अर्का अनसनकारी औरहीका जीवछ यादव भन्नुहुन्छ, ‘कमलाको पुल नहुँदा मधेशको सामाजिक आर्थिक गतिविधि नै ठप्प छ । मधेशको जीवनरेखा भनिएको हुलाकी राजमार्ग प्रयोजनविहीन भएको छ । मधेशप्रति राज्यको यो उपेक्षा निकै पीडादायी छ । यो पुल भत्किदा जनजीवन मात्र कष्टकर भएको छैन , मधेशको समृद्ध हुने सपना पनि समाप्त भएको छ । तर राज्यले देखेपनि नदेखे जस्तो गर्दैछ । उनले थपे हामी अब वारपारको शान्तिपूर्ण सत्यहाग्रहमा छौँ ।’
कमला पुल निर्माणका लागि दबाब सृजना गर्ने अभियन्ता तथा वरिष्ठ पत्रकार रामरिझन यादव भन्नुहुन्छ , ‘कमलाको पुल भत्किएको स्थान सिरहा क्षेत्र नं. ३ मा पर्छ । यहाँका सांसद लीलानाथ श्रेष्ठ हुन । उनले ४ दिन अघि मात्र प्रदेशका मन्त्रीहरु समेत लगेर सिरहाकै सर्रे अम्बासमा मदन भण्डारीको ६ तले स्मारक निर्माण गर्न ११ अर्ब बजेट दिने घोषणा गरेका छन् । तर आफ्नै निर्वाचन क्षेत्रको पुल पुनर्निर्माणको लागि कुनै चिन्ता छैन । उनकै निर्वाचन क्षेत्रका युवाहरुले आमरण अनसन सुरु गर्दा पनि उनको कानमा बतास लागेको छैन । मधेश र मधेशीको भोट लिएर जितेका श्रेष्ठको यो रवैया र नियति कति निष्ठुर छ भन्ने कुरा अब मधेश र मधेशीले बुझ्नैपर्छ ।’ उहाँले थप्नुभयो, ‘हाम्रा बालबच्चा कमला नदी तर्दा पनि हरेक पटक ज्यानको बाजी लगाउँछन्, अहिले आमरण अनसनमा बस्दा पनि मृत्युसँग विकास सट्न बसेका छन् । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निर्मित पुल ३ वर्ष अघि भत्किएको थियो । निर्माण सम्पन्न भएको केही महिनामै यो पुल भत्किएपछि हुलाकी राजमार्ग नै ठप्प भएको छ ।’
सिरहा र धनुषा जिल्ला बीच आवागमन बन्द भएको छ । स्थानीय जनताहरु जेखिम मोलेर नदी वारपार गर्छन् । यो पुल निर्माण गर्नु पर्ने माग राखेर विगत २ वर्षदेखि सिरहा र धनुषा जिल्लामा पटक पटक दबाबमूलक आन्दोलनहरु भएका छन् । दर्जनौ पटक संघीय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । तत्कालीन सरकारहरुका मन्त्री तथा नेताहरु नरायणकाजी श्रेष्ठ, रवि लामिछाने, रघुवीर महासेठ र गगन थापाले भत्किएको पुलको अनुगमन निरीक्षण गरी एक वर्ष भित्र नयाँ पुल निर्माण गर्ने आश्वासन दिनुभएको थियो । तर आश्वासनअनुसार काम नभएपछि सिरहाका बासिन्दाहरु मृत्युवरण गर्नसम्म तयार भएका छन् ।
सिरहाका पत्रकार बद्रीनारयण यादव भन्नुहुन्छ, ‘यस पटक सिरहाली युवाहरुले वारपारको आन्दोलन सुरु गरेका छन् । १० जना मधेशी युवाहरुको जीवन आहुति दिनुपर्ने अवस्था आयो भने त्यसले सिरहामा थामी नसक्नुको जुन सुनामी पैदा गर्नेछ । सरकार र सरकार चलाउने पार्टीका नेताहरुको ध्यान जान जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘कमलाको पुललाई प्राथमिकता नदिई मदन भण्डारीको स्मारक बनाउन ११ अर्व बजेट दिने घोषणा गर्ने सांसद लीलानाथ श्रेष्ठको अभिव्यक्ति मधेश र मधेशीहरुको मनमा यतिबेला काँडा झैं बिझिरहेको छ ।’ यस प्रसंगमा निकै परिचर्चा सुरु भएको छ ।
मधेश प्रदेश सरकारको आँगनमै आमरण अनसन बसेका सत्याग्रहीहरुको मागप्रति मुख्यमन्त्री सतिश कुमार सिंह भन्नुहुन्छ ‘मैले संघीय सरकारमा ज्ञापन पत्रको बोधार्थ पठाई दिएको छु । हामीले पनि दबाब दिँदैछौँ । यो संघीय सरकारको काम हो । उसैले पूरा गर्नुपर्छ ।’












प्रतिक्रिया