
धनकुटा, ४ भदौ । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताउनुभएको छ । एमाले धनकुटा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष बरालले यस्तो बताउनुभएको हो ।

एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताउनुभयो । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागि पर्छ ।’ बरालले भन्नुभयो । समग्र नेपाली जनताको आर्थिक, सामाजिक समृद्धिका लागि पार्टीले काम गरिरहेको उहाँले बताउनुभयो ।

देशमा राष्ट्रिय पूँजीको विकास गरी समग्र अर्थतन्त्रलाई सामाजिक न्यायको आधारमा रुपान्तरण गर्ने उहाँको भनाई छ । देशमा पूँजीपति दलालको रक्षाका लागि दलालहरू लागि परेको भन्दै बरालले आफूहरू राष्ट्रिय पूँजी विकासको लागि लड्ने बताउनुभयो ।
मुलुक आर्थिक रूपले संकटमा फसेको अवस्थामा एमालेले नै निकास दिलाउने बताउँदै उहाँले अब मुलुक हाँक्न एमालेको विकल्प नभएको स्पष्ट पार्नुभयो । समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकता पर्ने भएकाले राजनीतिसँग जनताको असन्तुष्टि नभएपनि भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि रहेको नेता बरालले बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय संकल्प र मिसन ८४ पूरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताउनुभयो । यो यात्राले देशभर उत्साह ल्याउने बताउँदै उहाँले राष्ट्रिय संकल्प र मिसन ८४ पूरा गर्न जिल्ला, पालिका र टोल हुँदै घरघरमा पुग्ने योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

मुलुकको अग्रगमनका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाएको भन्दै राईले २०८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने उल्लेख गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले धनकुटाको विकासका लागि एमालेको अगुवाईमा धेरै काम भएको बताउनुभयो । आफू खानेपानी मन्त्री हुँदा जिल्लाका लागि ७ अर्ब भन्दा बढी बजेट ल्याउन सफल भएको भन्दै उहाँले यसले जिल्लाको विकासमा थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।












प्रतिक्रिया