३ असार २०८३, बुधबार

धनकुटामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ४ भदौ । जनता समाजवादी पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश कमिटी सदस्य एवं धनकुटा जिल्ला पूर्वअध्यक्ष बलबहादुर राई, साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष लिलाराज लावती पनि एमालेमा प्रवेश गर्नुभएको हो ।

यसैगरी, नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका उपसभापति प्रकाश राई, नेकपा एसका नेता प्रा.डा. गोपालबहादुर भट्टराई, नेकपा एस साँगुरीगढी वडा नं. ३ का अध्यक्ष प्रवेश लिंखा पनि एमालेमा प्रवेश गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरेर करिब ५ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिनुभयो ।

उहाँहरूलाई एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, केन्द्रीय सदस्य सकुन्तला बस्नेत र बिनादेवी राई, अग्रज नेता गोपाल गुरागाईं, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङ्लालगायतले अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नवप्रवेशीको तर्फबाट बोल्दै बलबहादुर राईले खहरे खोलामा बसेर समय बर्बाद गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेर मूलधारको पार्टीमा आएको धारणा राख्नुभएको छ ।

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

एमाले जिल्ला कमिटीको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ ।

यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र सचिवमा कुलबहादुर तितुङ चयन हुनुभएको छ । उहाँहरूलाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।