२२ असार २०८३, सोमबार

कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौँ : मुख्यमन्त्री कँडेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ४ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बीमामा बजेट छुट्याएको उहाँले बताउनुभएको हो । प्रदेश सरकारले यसका लागि रु. चार करोड ५० लाख बजेट विनियोजन गरेको उहाँले भन्नुभयो ।

‘राष्ट्रियस्तरको यो बहसमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरु छौँ,’ मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस् ।’

उहाँले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई रु. दुई लाखका दर विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले रु. एक करोड ७५ लाख बजेट छुट्याएको छ । खाद्य तथा कृषि संगठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमको बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताउनुभयो । उहाँले विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने सुझाउनुभयो ।

बहसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली समेतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।