
काठमाडौं, ३ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरीका लागि पुस्तक संकलन गर्ने काम सुरु भएको छ । आइतबारबाट प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले पुस्तक लिनु सुरु गर्नुभएको हो । आइतबार शाक्यले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ बुझेर पुस्तक संकलनको काम प्रारम्भ गर्नुभएको हो ।
पुस्तक हस्तान्तरण गर्न डा. कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । स्रष्टा र इच्छुक व्यक्तिहरूले दिनुभएको पुस्तक अब दैनिक एक घण्टा संकलन गरिने भएको छ । पुस्तक प्रधानमन्त्री पत्नी राधिकाले आफै संकलन गर्नुहुने भएको छ ।
‘पुस्तक रिसिभ गर्ने काम शनिबार बाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने छ, पुस्तक हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा आउन सक्नु हुनेछ ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा लाइब्रेरीको लागि कोठा बनाइएको भए पनि लाइब्रेरीमा राखिएका र्याग खालि थिए । पुस्तकालयलाई नागरिक पुस्तकालय बनाउन प्रधानमन्त्री पत्नीले पुस्तक संकलन गर्न सुरु गर्नुभएको हो । प्रधानमन्त्री जो भए पनि उहाँहरूलाई भेट्ने जाने वा बालुवाटार जाने जो कोहीले पनि पढ्न पाउन् भन्ने उद्देश्यले उहाँले पुस्तकालय बनाउने काम सुरु गर्नुभएको हो । बालुवाटारसम्म आएर पुस्तक प्रदान गर्नुभएकोमा शाक्यले डा. कोइरालालाई धन्यवाद दिनुभयो ।

डा. कोइरालाले संस्थागत हिसाबले लाइब्रेरीलाई सुहाउने गरी पुस्तक प्रदान गरिएको बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवासमा अरूलाई पनि उपलब्धता हुने गरी पुस्तकालय सञ्चालन गरिनु राम्रो काम भएको कोइरालाले बताउनुभयो । ‘केही असल सन्देश दिने खालका किताबहरू छन् भने तपाईँ हामी सबैले आफ्नो तर्फबाट सहयोग गर्दा भविष्यमा एउटा ठुलो योगदान यो समाजलाई पुग्न सक्छ ।’ डा. कोइरालाले भन्नुभयो ।








प्रतिक्रिया