
काठमाडौं, ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सूचना दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सूचनाको हक सम्बन्धिको ग्यारेन्टी त छँदै छ, तर पनि सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु । सही ढंगले सञ्चालन नियमन कसरी गर्न सकिन्छ त्यसको लागि सरकारप्रतिबद्ध छ । सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गरिसकेको अवस्था छ, तर पनि जति हुनुपथ्यो त्यति पर्याप्त भएका छैन ।’ साथै, उहाँले धेरै काम भए पनि पर्याप्त मात्रामा नभएको जिकिर गर्नुभयो । उहाँले नेपालमा भएका सञ्चार क्षेत्र सबै पुरानो नीतिमा चलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सूचनासँग जोडिएको क्षेत्रलाइ संस्थागत विकास कसरी गर्ने भनेर सोच्नुपर्छ । नेपालमा जति पनि सञ्चार क्षेत्र छन् ,सबै पुरानो नीतिमा चलिरहेका छन् । यसको लागि ढाँचाहरू परिवर्तन गर्नुपर्छ, नीति नियमको हिसाबले जनताको सूचनाको हकलाई धेरै व्यवस्थित गर्नुपर्छ, नेपाल सरकार चुस्त दुरूस्त बनाउन लागिरहेको छ ।’








प्रतिक्रिया