२३ असार २०८३, मंगलबार

सफलताका लागि एकताबद्ध र योजनाबद्ध सक्रियता आवश्यक : प्रधानमन्त्री ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सफलताका लागि एकताबद्ध र योजनाबद्ध सक्रियता आवश्यक रहने बताउनुभएको छ । एमाले बागमती प्रदेशअन्तर्गत प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र लगायत भूगोलमा जिम्मेवारी पाउनुभएका पार्टीका नेताहरूलाई नयाँ जिम्मेवारी सम्हाल्ने क्रममा आ–आफ्ना कार्यक्षेत्र जानुअघि आइतबार साँझ निर्देशन दिनुहुँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले २०७९ को निर्वाचनमा पार्टीले जुन हार व्यहोर्नुपर्‍यो त्यो ठूलो धक्का भएको र एमालेजस्तो बलियो संगठन भएको पार्टीले पराजय सहेर बस्न नमिल्ने बताउँदै आगामी निर्वाचनमा त्यस परिणामलाई सम्पूर्ण रूपमा बदल्ने गरी काममा जुट्न निर्देशन दिनुभयो । एमाले कठोर परिस्थिति र विरोधीको चौतर्फी आक्रमण सामना गरेर पुरानै अवस्थामा फर्केको पार्टी भएकाले निर्वाचन परिणाममा पनि पहिलेको अवस्थामा फर्कने र अझ बढी सफलता हासिल गर्नसक्ने सामर्थ्य एमालेमा रहेको अध्यक्ष ओलीले बताउनुभयो । गत संसदीय निर्वाचनमा बागमती प्रदेशमा जुन परिणाम व्यहोर्नुपर्‍यो त्यो एमालेका लागि सुहाउने कुरा होइन भन्दै अध्यक्ष ओलीले आगामी २०८४ मा हुने स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन परिणाम उलटफेर गर्ने गरी लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीले भर्खरै गरेको कार्यविभाजनबाट बागमती प्रदेशमा भूगोलको जिम्मेवारी पाउनुभएका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज डा।राजन भट्टराई, बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्लाका इन्चार्ज, निर्वाचन क्षेत्रमा जिम्मेवारी पाउनुभएका केन्द्रीय कमिटीका सदस्यहरू, बाग्मती प्रदेश कमिटीका पदाधिकारीहरू र जिल्ला अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उहाँहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा ५१ प्रतिशतभन्दा बढी विजय प्राप्त गर्ने गरी काममा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले पार्टीसँग देश निर्माणका सही नीति रहेकाले योजनाबद्ध सक्रियता हुँदा स्पष्ट बहुमतको लक्ष प्राप्त गर्ने कुरा असम्भव नभएको बताउनुभयो । एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर विरोधीहरूले सबै खालका हतकण्डा अपनाउने गरेका र कतिपय आफ्नो जग, आधार नभएका विरोधीहरूले प्रचार संयन्त्रहरू प्रयोग गरी एमाले र पार्टीका नेताहरू विरुद्ध बकाउने काम भइरहेकोतर्फ ध्यानाकर्षित गर्दै अध्यक्ष ओलीले पार्टीपङ्तीले ती कुप्रचारलाई चिरेर भ्रम हटाउँदै जनतामा सत्य र यथार्थ कुरा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई भ्रम फैलाउनु छैन । सत्य र यथार्थ कुरा जनतामा पुर्‍याए पुग्छ ।

एमालेको गन्तव्य चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म नभएको स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामीले ठूलो गन्तव्य बोकेका छौँ । समाजवादको आधार तयार गर्दै समाजवादमा पुग्ने । विकासको गतिलाई तिब्रताका साथ अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने । त्यसअघि दिगो विकासका उद्देश्य प्राप्त गर्ने, गरिबीको रेखामुनी रहेका जनतालाई माथि उठाउने । यो साधारण अभिभारा होइन, देश बनाउन मैदानमा आएका हामी एमालेहरू एकताबद्ध र योजनाबद्ध रूपमा यो अभिभारा पूरा गर्न लाग्नुपर्छ ।

आफ्नो नेतृत्वको अघिल्लो सरकारले राम्रा काम गर्दा गर्दै पृष्ठभागमा प्रतिक्रियावादी र अग्रभागमा पार्टीभित्रकै केही मान्छेले कुप्रचारको अभियान चलाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि जो सबभन्दा ठूलो भ्रष्टाचारी छ उसैले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट हट्नुपरेको भनि कराइरहेको बताउनुभयो । विगत दिनहरूमा पार्टीभित्रै सङ्घर्ष गर्नुपर्छ भनी ठूलो स्वरले कराउनेहरू अहिले पार्टीमा नरहेको र सफलताका लागि पार्टीभित्र सङ्घर्ष होइन एकता आवश्यक हुने स्पष्ट गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यो वा त्यो भन्ने ढङ्गले कसैप्रति विगत पृष्ठभूमिका आधारमा भेदभाव नहुने कुरामा आश्वस्त पार्नुभयो । उहाँले गन्तव्यमा सफलता प्राप्त गर्नका लागि सबै जाति, भाषा, संस्कृतिका समुदायबीच एकताकायम गर्दै सिङ्गो देशलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको प्राथमिकता गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई माथि उठाउने रहेको बताउँदै देश समृद्ध हुँदा पनि गरिबी रहने प्रणाली एमालेले नचाहेको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– देशमा उत्पादन र उत्पादकत्व बढाउने मात्र होइन, वितरणको न्यायोचित प्रणाली हामीले चाहेका छौँ ।

प्रधानमन्त्री ओलीले ठिक ढङ्गले चल्न सकिएन भने देशको विकासले मात्र हुँदो रहेन छ भन्ने बंगलादेश घटनाले देखाएको औल्याउँदै नेताहरूलाई जनभावनाअनुसार चल्न, जनताका समस्या समाधानमा लाग्न, उनीहरूको मन जित्नेगरी काम गर्न र असल व्यवहार गर्न पनि ध्यानाकर्षित गर्नुभयो । पार्टीमा सही विचार भएर मात्र नहुने र त्यो विचार बोकेर हिड्ने एकतावद्ध र सशक्त पार्टी संगठन निर्माण गर्नुपर्ने बताउँदै उहाँले एमाले जनआधारित मजबुत पार्टी भएको र पार्टीलाई अझ बलियो बनाई जस्तोसुकै परिस्थितिको सामना गर्नसक्ने गरी तयार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराईले पार्टीले यस पटकको कार्यविभाजनमा सबै केन्द्रीय कमिटी सदस्यहरूलाई एउटा परिभाषित जिम्मेवारी दिएको हुँदा हामी सबैको मूल्याङ्कन सोही जिम्मेवारी बमोजिमको कामका आधारमा हुने छ भन्ने आफूहरूको बुझाई रहेको बताउनुभयो । इन्चार्ज भट्टराईले पार्टीको अपेक्षा पूरा गर्नका लागि यसरी नै समय समयमा निर्देशन लिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।