७ असार २०८३, आइतबार

कांग्रेस-एमालेको गठबन्धन राजनीतिक स्थायित्वका लागि हो : शंकर पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा राजनीतिक स्थायित्व र स्थिरता दिन कांग्रेस–एमालेको संयुक्त सरकार बनेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तनको समयमा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि देश बनाउने कुरामा भने धेरै भन्दा बलिया राजनीतिक दल आवश्यक भएको बताउनुभयो । संयुक्त मोर्चा बनाएर विकासे काम गर्न नसकिने पोखरेलले प्रष्ट पार्नुभयो । विश्वमा कतै पनि संयुक्त मोर्चा बनाएर देश विकासको काम नभएको उहाँले बताउनुभयो ।

देश विकासकाले लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले प्रष्ट पार्नुभयो । अहिले नेपालमा बलियो राजनीतिक शक्ति बन्नै नसकेको बताउनुभयो । बलियो राजनीतिक शक्ति नबन्दासम्म देशको विकास हुन नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो । ‘कमजोरहरूले शासन गरेर देश बन्नेवाला छैन ।’ पोखरेलले भन्नुभयो ।

देश र समुदायको हितका लागि बलिया संगठनको आवश्यक पर्ने उहाँले बताउनुभयो । यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नु पर्ने पोखरेलको भनाइ छ । यही कुरालाई ध्यानमा राखेर देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका उहाँले स्पष्ट पार्नुभयो । ‘दुईवटा ठुला दल मिलेर स्थायित्वको खोजीमा लागेका छौँ ।’ उहाँले भन्नुभयो । लोकतन्त्र र स्थायित्वका आधार निर्माणको लागि कांग्रेस र एमाले एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । त्यो आधार निर्माण हुने बित्तिकै दुईवटा राजनीतिक दल स्वच्छ प्रतिस्पर्धामा उत्रिने पोखरेलको भनाइ छ ।

सामान्य अवस्थामा देशका दुई ठूला राजनीतिक दल मिल्ने कुरा उचित नभए पनि अहिले देश विशिष्ट अवस्थामा रहेको पोखरेलले बताउनुभयो । राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक र मौलिक स‌ंस्कृति माथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थाको कारण देश निक्कै कमजोर अवस्थामा रहेको उहाँको भनाइ छ । देशलाई त्यसबाट मुक्त गराउन दुई ठुला दल मिल्नु परेको पोखरेलले बताउनुभयो ।

पोखरेलले राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने बताउनुभयो । नेपालको इतिहासले पनि त्यो कुरालाई प्रमाणित गरेको उहाँको धारणा छ । समाजमा बन्न लागिरहेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव भएको उहाँले बताउनुभयो । यसले शिक्षक आन्दोलनको गौरवलाई पुनः समाजमा स्थापित गर्ने उहाँले दाबी गर्नुभयो ।

समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएको कारण नेपालको सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कँदै गएको महासचिव पोखरेलले बताउनुभयो । घरमा पढ्ने वातावरण नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा भएकाले उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भएको पोखरेलको धारणा छ । पछिल्लो समयमा अङ्ग्रेजी भाषा प्रतिको आकर्षण बढ्दा सचेत वर्गका छोराछोरी अङ्ग्रेजी माध्यमका विद्यालयमा जाँदा सामुदायिक विद्यालयको पढाई कमजोर देखिएको बताउँदै उहाँले यसको सुधारका लागि बहस आवश्यक रहेको बताउनुभयो । हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकहरूले भूमिका खेलेका थिए अब सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानमा त्यसैगरी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । त्यो काम नेपाल राष्ट्रिय शिक्षक संगठनले मात्र गर्न सक्ने पोखरेलले बताउनुभयो ।

आज पदका नेता धेरै तर जिम्मेवारीका नेता काम हुँदा संगठनका काम कमजोर हुँदै गएका पोखरेलले बताउनुभयो । पदका नेता भए र कुनै अर्थ नराख्न बताउँदै जिम्मेवारीका नेताहरू भए भने मात्र संगठन सुधार हुने उहाँको भनाइ छ ।