
काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमासमेत निर्यात गर्न सफल भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘विभिन्न आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममासमेत दैनिक आठनौं घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरी दैनिक सातसय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैसाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’
साथै, उहाँले प्राविधिक कारणले केही छिन विद्युत अवरुद्ध भएपनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गर्नुभयो । उहाँले वर्षायाममा विद्युत भारत निर्यात गरी विदेशि मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताउनुभयो ।









प्रतिक्रिया