२४ कार्तिक २०८३, मंगलबार

कटारी नगरपालिकामा भाँडभैलो, नगर सभा सदस्य भन्छन्ः मेयर गैरजिम्मेवार बने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी, उदयपुर, १ भदौ । उदयपुरको कटारी नगरपालिकामा भाँडभैलो भएको छ । नगरपालिकाले यस आर्थिक वर्ष २०८१/०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट असार १० गतेमै ल्याउनु पर्ने भएपनि आन्तरिक स्रोत बापतको राजस्व नगरप्रमुखले मनोमानी खर्च गरेको भन्दै झन्डै ६६ प्रतिशत नगर सभा सदस्यले विरोध जनाएपछि नगरको तेह्रौं नगर सभा अनिर्णयको बन्दी बनेको छ ।

लामो विवादका कारण रोकिएको नगरपालिकाको नगर सभा यही साउन २७ गते आइतबार सुरु भएको भए पनि नगर सभामा सभालाई नै छलेर नगर प्रमुखले गत आर्थिक वर्षको खर्च अनुमोदन गराउन खोजेपछि नगर सभा सदस्यले स्थानीय सरकार सञ्चालन ऐन अनुसार विधि र पद्धतिमा बसेर नगर सभा सम्पन्न गर्न नगर प्रमुखसँग माग गरेपछि तेह्रौं नगर सभा अनिर्णयको बन्दी बनेको हो ।

साउन २७ गते नगर सभा सञ्चालन भइरहदा नगर सभाका सदस्यहरुले आफनो जिज्ञासा राख्ने क्रममा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन गराउने शीर्षकमा कार्यपालिकाले अनुमोदन नगराउने भन्ने निर्णय भइसकेको वन तथा खानी रोयल्टीबाट प्राप्त राजश्वको खर्चसमेत समावेश गरी बजेट ल्याएपछि सभाका सदस्यहरुले यस विषयमा जिज्ञासा राखेका थिए । यद्यपि, प्रश्नको जवाफनै नदिई नगरप्रमुखले गैरजिम्मेवर तरिकाले कुनै पनि विषयहरुमा छलफल नै नगराई नगर सभा सम्पन्न भएको घोषणा गरेकाले नगर सभाका सदस्यहरु झनै वन तथा खानी रोयल्टीबाट प्राप्त राजश्वमा अनियमित्त भएको आशंकित बनेपछि अहिले नगरपालिका अशान्ति बनेको छ ।

गत साउन २७ गते बसेको नगर सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभएपनि ७६ सदस्य नगर सभा सदस्य मध्ये ५२ जना नगर सभा सदस्यले आफुहरुका प्रश्नको उत्तरनै नदिई नगर उपप्रमुखलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्णयार्थ पेश गर्ने अवसर नै नदिएको भन्दै पुनः सभा बसेर बाँकी रहेका विषय टुंग्याउने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराई सम्पर्कमा नआएपछि नगर सभामा के गर्ने भन्नेमा अन्यौल भएको थियो ।

नगरप्रमुख श्रेष्ठलेसमेत उपस्थित जनाउन नमानेपछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा ७६ सदस्य नगर सभाका सदस्य मध्ये ५२ जना सदश्यहरुले माइन्युट गरी आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेको नगर उपप्रमुख गीता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूहरुले आइतबारको सभामा उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौँ । त्यो बैठक पुस्तिकासहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहीन भएपछि नगरसभालाई पूर्णता दिन सोमबार सभालाई निरन्तरता दिँदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैयाँ अनुमानित बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणी आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्नेसहित महत्वपूर्ण निर्णय गर्दै नगर सभालाई पूर्णता दिएका हौँ ।’

नगर उपप्रमुख खड्काले २८ गते नगर प्रमुख श्रेष्ठसमेत उपस्थित नहुनु भएकाले कार्यन्वयनका लागि नगरप्रमुखलाई अनुरोध गरेको बताउनुभयो । कटारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकामा संघीय सरकारबाट प्राप्त गरेको खानी तथा वन रोयल्टी बापतको राजस्व नगरप्रमुखले मनोमानी ढंगले आफू खुशी खर्च गरेपछि विवाद भएको हो । नगरको १२औं (अघिल्लो वर्ष) नगर सभामा खानी तथा वन रोयल्टी बापतको राजस्वको अनुमान नगरिएको र उक्त राजस्व आर्थिक वर्षको बीचमा प्राप्त आम्दानीलाई कार्यपालिकामा जानकारीसमेत नगराई टिप्पणी आदेशका भरमा खर्च गरेकाले कार्यपालिका सदस्यहरुले यस विषयमा विरोध जनाउदै आएकोसमेत नगरउपप्रमुख खड्काले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ को बजेट नगर सभाबाट पारित भै योजनाहरु सञ्चालन भइरहेको अवस्थामा नगर सभाले अनुमान गरेको राजस्व भन्दा फरक शीर्षकबाट (वन रोयल्टि र खनिज तथा खानी रोयल्टी) प्राप्त रु १ करोड ७६ लाख ५८ हजार प्राप्त भयको मा उक्त बजेट कार्यपालिका बैठक वा नगर सभामा प्रस्तुत नगरी २०८१ वैशाख १० गते नगरपालिकाको योजना शाखाका सवइन्जिनियर ओमबहादुर मिश्रले टिप्पणी उठाएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले निर्णायर्थ पेश गरेको र नगरप्रमुखले सदर गरी कार्यान्वयन गरेको देखिएको उपमेयर खडकाले बताउनुभयो । यस कार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित भएको कार्यपालिका सदस्य तथा वडा नं २ का वडा अध्यक्ष प्रेम थापाको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘योजना शाखामा अन्य सिनियर कर्मचारी हुँदाहुँदै तल्लो तहको प्राविधिकबाट टिप्पणी उठाउनु, वैशाख ११ गते नै कार्यपालिकाको बैठक बसेकोमा उक्त टिप्पणीको विषयमा बैठकमा जानकारी नगराउनु र २०८१ वैशाख २१ गतेको नगर सभामासमेत यो विषय अनुमोदनको लागि पेश नगर्नुले यस विषयमा आफूहरुको असहमति रहेको छ ।’ आन्तरिक स्रोत बापतको राजस्व लुकाएर अहिले उक्त विषय घुमाउरो पारामा सभाबाट पास गराउन कोसिस गरेपछि तेह्रौं नगर सभा भाँडिएको हो ।

यसैबीच, यो विषयमा साउन १६ गतेको कार्यपालिका बैठकमा त्यस विषय अनुमोदन नगर्ने र बाँकी विषयहरुमा नगर सभा सम्पन्न गर्ने सहमति भएअनुसार नगर सभा बोलाइको भएपनि नगर सभामा आ.व. २०८०/०८१ को सम्पूर्ण व्यय अनुमोदन गर्ने भन्ने उल्लेख गरेर घुमाउरो पारामा पास गराउने कोसिस गरिकाले पनि कार्यपालिकाका सदस्यहरुले यस विषयमा प्रश्न उठाएपछि सभा सम्पन्न भएको भन्दै प्रमुख प्रशासकिय अधिकृत बैठक पुस्तिका बोकेर सभाबाट निस्किएको र सम्पर्क विहीन भएको कार्यपालिका सदस्य तथा वडा नंं ११ का वडा अध्यक्ष अनन्त हायुले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कार्यपालिका बैठकमै यो विषय अनुमोदन नगर्ने निर्णय गरेका थियौँ, तर सभामा घुमाउरो पारमा ढोका हुँदाहुँदै जस्केलाबाट यो विषय छिराएर अनुमोदन गराउने प्रयास गरियो, सुरुमा हामी सबै अन्यौलमा पर्‍यौँ, पछि यो १ करोड ७६ लाख ५८ हजारसमेत सम्पूर्ण खर्च अनुमोदन गर्ने शीर्षकमा ल्यायको हो भनी सभाका सदस्यहरुले प्रश्न उठाएपछि नगरप्रमुखले जवाफ नै नदिई सभा सम्पन्न भएको घोषणा गर्नुभयो । निर्णयनै नलेखी प्रमुख प्रशासकिय अधिकृत बैठक पुस्तिका बोकेर सम्पर्क विहीन हुनुभयो ।’ सभामा उठेका प्रश्नको जवाफ नै नदिई सभामा कुनै पनि विषयमा दफावार छलफल नगरी सभा सकिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत सम्पर्क विहीन भएपछि नगरप्रमुखले सोमबार ९ बजे बस्ने गरी नगर सभा स्थगित गरेको जानकारी गराउनुभएको उहाँको भनाई थियो ।

कटारी नगरपालिकाका नगर सभाका बहुमत सदस्यहरुले टिप्पणी आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार रुपैयाँलाई अनुमोदन नगरी तत्काल आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पास गरेर अघि बढ्नु पर्ने र उक्त रकमका विषयमा छानबिन गर्नुपर्ने माग राख्दै अएका छन् । उनीहरुले नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित कसैको मनोमानी तरिकाबाट सञ्चालन नहुनेसमेत बताएका छन् ।

यसैबीच, कटारी नगरपालिकाले टिप्पणी आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजारको समस्या समाधान गर्न नगरको विनियोजन विधेयक २०८१ को बुँदा नं. ४ पछि थप गरिएको पाइएको छ । यसअघि नगरपालिकाले असार १३ गते नगरको वेबसाइटमा राखेको विनियोजन विधेयक २०८१ को बुँदा नं. ३ सम्म मात्र रहेकोमा पछि बुँदा नं. ४ थप गरी ‘अनुसुचि १ मा उल्लेख भएभन्दा बढी वा अन्य कुनै स्रोतबाट थप आम्दानी प्राप्त हुन आएमा योजना तथा कार्यक्रम विनियोजन गर्ने अधिकार नगर प्रमुखलाई हुनेछ । त्यसरी विनियोजन रकम नगरकार्यपालिकाको कार्यालयले नियमानुसार खर्च गर्नेछ’ भन्ने लेखिएको छ । यसले पनि नगरप्रमुखको गैरजिम्मेवार कार्यको उजागरको गरेका वडा नंं ११ का वडा अध्यक्ष अनन्त हायुको भनाई छ ।