२४ जेष्ठ २०८३, आइतबार

नगर अस्पतालकै कर्मचारीको औषधि पसल अवैध

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३२ साउन । मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम)ले आफ्नो घरमै अवैध रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ । पथरी शनिश्चरे-७ स्थित बकैना डाँडामा रहेको उहाँको घरमा दुईवटा वेड राखेर अवैध व्यवसाय सञ्चालन गरेपछि अनुगमन टोलीले सिलबन्दी गरेको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिनुभयो ।

कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधि पसल हेर्ने गरेको पाइएको छ । जहाँ बिरामीहरुको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएको छ । अनुगमनका क्रममा औषधि पसलमा म्याद गुज्रिएको औषधि पनि फेला परेको थियो ।

यसरी सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएको यो गम्भीर नियम उल्लङ्घनको प्रकरणले स्थानीय स्वास्थ्य सेवामा प्रश्न उब्जिएको छ । यस्ता कार्बाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ । नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

लिम्बुकोसँगै अन्य तीन वटा अवैध औषधि पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले यस्ता पसलहरू सिलबन्दी गरेको हो ।

अनुगमनमा पथरी शनिश्चरे-९ को पुलचौकमा रहेको कुवेर भण्डारीको औषधि पसल, वडा नं. ६ को भातेगौँडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधि पसलहरू पनि सिल गरिएको अनुगमन टोलीका संयोजक नगर उपप्रमुख देविमाया काफ्लेले बताउनुभयो ।

औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत परियारले पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधिहरू बिक्री गरिरहेको पाइएकोले कार्बाही गरिएको बताउनुभयो ।

नगर उपप्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।