
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा ‘पिपुल्स लाइब्रेरी’ स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले सबैलाई पुस्तकालय बनाउनका लागि सघाउन आग्रह गर्नुभएको छ । लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक पुस्तकालयमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

‘बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो– यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ । त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले शुक्रबार बिहान फेसबुकमा लेख्नुभएको छ, ‘लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्याउने कुरा भएको छ ।’








प्रतिक्रिया