
काठमाडौं, ३० साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने तयारी भएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेपछि विधेयक पारित गर्ने तयारी भएको हो । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेस गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसपछि विधेयकमाथिको छलफल अघि बढ्नेछ। छलफलमा दलका शीर्ष नेताहरूले मात्र भाग लिने र विधेयक पारितका लागि निर्णयार्थ पेस गरिने कांग्रेस प्रमुख सचेतक घिमिरेले बताउनुभयो । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ।
प्रमुख दलहरुबीच विधेयकका विवादित प्रावधानमा सहमति जुटिसकेकाले लामो छलफल नगरी आजै पारित गर्न लागिएको हो। कानुन न्याय तथा मानवअधिकार समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको थियो।









प्रतिक्रिया