१ कार्तिक २०८३, शनिबार

हेटौंडाको राप्ती खोलामा पनि सुरू भयो र्‍याफ्टिङ सेवा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबारदेखि र्‍याफ्टिङ सेवा औपचारिक रूपमा सुरु भएको छ । राप्ती खोलामा सुरु गरिएको यो सेवा हेटौंडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ ।

यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्‍याफ्टिङको अनुभव अब हेटौंडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन् । नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिद्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीसहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए ।

अध्यक्ष कालाखेतीले राप्ती नदीमा र्‍याफ्टिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धिसमेत हुने विश्वास रहेको बताउनुभयो । उहाँले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले यहाँ र्‍याफ्टिङको राम्रो सम्भावना रहेको छ । कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्‍याफ्टिङ यात्राका लागि प्रतिव्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ ।

यो नयाँ पर्यटकीय गतिविधिले हेटौंडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ । कम्पनीले छिट्टै नियमित र्‍याफ्टिङ सेवा सुरु गर्ने जनाएको छ ।