
हेटौंडा, २६ साउन । सत्तारुढ दल नेकपा (एमाले)का प्रमुख सचतेक महेश बर्तौलाले वर्तमान सरकारले राष्ट्रलाई विकास र सुशासनको दिशामा लैजाने बताउनुभएको छ ।
शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसले आयोजना गरेको ‘युवा र विद्यार्थी कार्यशाला’लाई हेटौंडामा सम्बोधन गर्नुहुँदै उहाँले सामाजिक न्याय र समृद्धिको पथमा मुलुकलाई अघि बढाउनकै लागि वर्तमान सरकार बनेको बताउनुभयो ।

उहाँले सरकारले युवाहरुलाई स्वदेशमै रहेर काम गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले नेपाली युवाहरुको विदेश पलायनलाई रोक्ने र विदेशमा भएकाहरु पनि स्वदेशमै आउने परिस्थिति सिर्जना गर्ने संकल्प प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको उल्लेख गर्नुभयो ।
प्रमुख सचतेक बर्तौलाले युवाहरुको लागि सरकारले वित्तीय साक्षरता मात्र नभई वित्तीय पहुँचको सुनिश्चिता गर्नेसमेत बताउनुभयो ।

बर्तौलाले मुलुकको रुपान्तरण गर्न युवाले पनि भुमिका खेल्नुपर्ने बताउनुभयो । अहिलेको पुस्ता अधिकार प्राप्तिको लागि लड्न नपर्ने बताउनुहुँदै उहाँले विगतमा अग्रजहरुको योगदानबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै मुलुक निर्माणको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्र र समाजको विकासको लागि युवाहरुले ब्यक्तिवादी चिन्तन त्याग्नुपर्ने उहाँको भनाई छ ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका सभापति अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाललगायतको आतिथ्यता रहेको थियो ।











प्रतिक्रिया