
तनहुँ, २३ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगु संक्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगु संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन संक्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेंगु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।’ कुँवरले डेंगु संक्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गर्नुभयो ।
आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।








प्रतिक्रिया