
काठमाडौं, २३ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेशमा ६ जना, बागमतीमा ३० जना, गण्डकीमा ५२ जना, लुम्बिनीमा ३३ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो । साथै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेशमा १० जना, बागमतीमा १९ जना, गण्डकीमा ४४ जना, लुम्बिनीमा १३ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्दार गरिएको छ ।
बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा ४ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६३ वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन् ।
बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।








प्रतिक्रिया