२६ असार २०८३, शुक्रबार

बंगलादेश घटनाबाट राजनीतिक शिक्षा लिनुपर्छ : शंकर पोखरेल

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलेले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताउनुभएको छ ।

बुधबार आयोजित पार्टीको जनसंगठन संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बंगलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमुना विकास भएको बताउनुभयो । त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनु पर्ने स्थिति आएको पोखरेलले बताउनुभयो । ‘एउटा मुद्दाले उहाँले देश छाड्नु पर्‍यो ।’ पोखरेलले भन्नुभयो । त्यो घटनाले राजनीति गर्नेले जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा लिनुपर्ने पोखरेलको भनाइ छ । ‘जनभावनालाई आत्मसाथ गर्ने कुरा राजनीति गर्नेका लागि महत्त्वपूर्ण शिक्षा हो भन्ने कुरा देखाउँछ, विकास र समृद्धिका मुद्दाले मात्रै सबै कुरा हल हुँदैन ।’ पोखरेलले भन्नुभयो ।

आज बंगलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको पोखरेलले बताउनुभयो । तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । बंगलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समय पछि सत्ता छाड्नु पर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका पोखरेलले सुनाउनुभयो । एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधै ख्याल राख्नु पर्ने पोखरेलले बताउनुभयो । यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरुलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन पोखरेलले आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले नेपाल र बंगलादेशको अवस्था फरक रहेको पनि बताउनुभयो । बंगलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्तिसमेत बन्न नसकेको बताउनुभयो । ‘यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रिकरण भएर दुरुपयोग भन्ने कुरा हो ।’ उहाँले भन्नुभयो । सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा भने सचेत हुनु पर्ने पोखरेलले बताउनुभयो । त्यसले सामाजिक सञ्जाललाई सही बाटोमा डोर्‍याउने कुरामा जनसंगठनको भूमिका महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो ।