४ श्रावण २०८३, सोमबार

एमाले पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ : अध्यक्ष ओली

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले यतिबेला पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

मंगलबार अन्तरपार्टी निर्देशन (अपानि)–१० जारी गर्नुहुँदै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने काममा लाग्न निर्देश गर्नुभएको छ ।

‘यतिबेला हामी पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ, नेकपा (एमाले) र नेपाली कांग्रेसकाबीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छ ।’ अध्यक्ष ओलीले जारी गर्नुभएको अपानिमा उल्लेख छ ।

पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको अपानिमा उल्लेख छ । ‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्, स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ ।’ अपानिमा लेखिएको छ ।

केन्द्र र प्रदेश सरकारमा महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको पार्टीको अपानिमा लेखिएको छ । ‘अब मिसन ०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधरिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ ।’ निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने निर्देशनमा उल्लेख छ । ‘स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिङ्गो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ, म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु ।’ अध्यक्ष ओलीले जारी गर्नुभएको अपानिमा लेखिएको छ ।