८ असार २०८३, सोमबार

मादुरो र मस्क आमनेसामने : हारेमा राजीनामा, जितेमा मंगलग्रह यात्रा सित्तैमा

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमनेसामने हुनुभएको छ ।

मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मस्कले लगातार उहाँको आलोचना गर्दै तानाशाहको संज्ञा दिइरहनुभएको छ । भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केहीदिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आउनुभएको छ । मस्कले मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनीसमेत दिनुभएको छ ।

मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिनुभएको थियो, जसलाई मस्कले स्वीकार गर्नुभएको छ । मादुरोले यो लडाइमा हार्नुभयो भने उहाँले राजीनामा दिनुपर्ने र जित्नुभयो भने मादुरोलाई मंगल ग्रहको सित्तैमा यात्रा दिने मस्कले बताउनुभयो ।

मादुरोले मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउँदै उहाँले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गर्नुभएको र अब संसारलाई नियन्त्रण गर्न चाहेको आरोप लगाउँदै मस्कलाई सामुन्ने आएर लड्न चुनौती दिनुभएको थियो । मादुरोले आफू चाभेजको सन्तान भएको र कसैसँग नडराउने बताउनुभएको थियो ।

मादुरोको यो चुनौतीपछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफूले जित्ने दाबी गर्नुभयो । साथै मस्कले लडाईमा हारेमा पदबाट राजीनामा दिनुपर्ने शर्त राख्नुभएको छ । आफूले हारेमा मादुरोलाई निःशुल्क मंगलग्रह घुमाउने प्रस्ताव राख्नुभएको छ ।

मस्कले यसअघि पनि धेरै पटक जुकरबर्गलाई लड्न चुनौती दिएपनि आमने सामने भने हुनुभएन । दुवैले लडाईको तयारी गर्दै गरेको भन्दै बक्सिङ सिकेको तस्वीरसमेत सार्वजनिक गर्नुभएको थियो ।

भेनेजुएलामा चुनावी नतिजा आएपछि मस्कले प्रश्न उठाउनुभएको थियो । उहाँले मादुरोलाई तानाशाह भन्नुभएको थियो । यसपछि मदुरोले मस्कलाई भेनेजुएलाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउनुभएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जित्नुभयो । मादुरोको जितको घोषणापछि भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।