
रामेछाप, १७ साउन । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धानखेतमा क्षति पुर्याएको छ ।
मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोलालगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ । कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । खोलाको बाढीले एक जनाको घर र एक जनाको मतानसहितको खेत बगाएको उहाँले बताउनुभयो । खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि किसानले धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्याएको छ । खोलामा आएको बाढीले कुलाहरूसमेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिनुभयो ।
गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।









प्रतिक्रिया