
काठमाडौं, १६ साउन । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।
विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनकाअनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनीसमेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन् ।
केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले रबरको गोली प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मदुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको छ ।
भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो । निकोलस मादुरोले चुनाव जितेपछि विपक्षीले यो नतिजा अस्वीकार गरेका छन् । निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ ।
चुनावी नतिजाअनुसार राष्ट्रपति निकोलस मादुरोले ५१.२ प्रतिशत मत पाउनुभएको छ भने विपक्षी नेता गोन्जालेजले ४४.२ प्रतिशत मत पाउनुभएको छ ।
मादुरोको जितपछि विपक्षी र जनता आक्रोशित भएका छन् । सडकमा उत्रिएका प्रदर्शनकारीले निकोलस मादुरोको ब्यानर च्यातेका थिए । उनीहरूले मादुरोभन्दा अगाडि राष्ट्रपति भएका ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् । ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गर्नुभयो र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गर्नुभयो । मदुरो विगत ११ वर्षदेखि सत्तामा हुनुहुन्छ । हालैको निर्वाचनमा विजयी भएपछि मादुरो अब २०२५ देखि २०३० सम्म सत्तामा रहनुहुनेछ ।
सोमबार टेलिभिजन सम्बोधनमा राष्ट्रपति मादुरोले भेनेजुएलामा ‘कु’को प्रयास भइरहेको दाबी गर्दै विपक्षीको योजना सफल हुन नदिने बताउनुभयो ।
सीएनएनकाअनुसार भेनेजुएला धेरै वर्षदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिका र पश्चिमी मुलुकले लगाएको नाकाबन्दीका कारण तेलका लागि चर्चित यो देश विश्वमा एक्लो बन्दै गएको छ ।
विपक्षी दलहरूले निकोलस मादुरोलाई हटाउन गोन्जालेजसँग एकता गरेका थिए । सोमबार साँझ पत्रकार सम्मेलनमा विपक्षी नेता मारिया मचाडोले आफ्नो गठबन्धनलाई सार्वजनिक समर्थन रहेको दाबी गर्नुभयो । सत्तारुढ दलले चुनावमा धाँधली गरेको कारण एडमन्डो गोन्जालेजले जित्न सक्नुभएन । मचाडो भेनेजुएलामा विपक्षी गठबन्धनका वरिष्ठ नेता हुनुहुन्छ । तर, सर्वोच्चको प्रतिबन्धका कारण उहााले चुनाव लड्न पाउनुभएन । यसपछि उहाँले गोन्जालेजलाई आफ्नो समर्थन दिनुभएको थियो ।
नतिजा सार्वजनिक भएपछि गोन्जालेजले भेनेजुएलामा के भयो भनेर देश मात्र नभई सारा विश्वलाई थाहा भएको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचन परिणाममा अनियमितता भएको बताउँदै हिंसात्मक भन्दा पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकलाई आग्रह गर्नुभएको छ ।
उता, मदुरोको जितमा अमेरिकाले चुनावी नतिजामा विश्वास नगर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गर्दै यो नतिजाले भेनेजुएलाका जनताको मनस्थितिलाई प्रतिबिम्बित नगर्ने बताउनुभयो ।
त्यसैगरी, संयुक्त राष्ट्र संघ र युरोपेली संघलगायत धेरै देशले भेनेजुएलामा पारदर्शी ढंगले नतिजा जारी गर्न माग गरेका छन् । प्रत्येक मतदान केन्द्रको मतदान अभिलेख सार्वजनिक गर्न निर्वाचन अधिकृतलाई अपिल गरेका छन् ।
निकोलस मादुरोलाई चीन, रुस र क्युवाजस्ता साथी राष्ट्रहरूको भने समर्थन प्राप्त छ । यी देशहरुले राष्ट्रपतिलाई लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिएका छन् । तर, छिमेकी मुलुकले त्यसो गरेका छैनन् । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अहिलेसम्म बधाई पनि दिनुभएको छैन् । यी दुवै देशमा भेनेजुएला जस्ता वामपन्थी विचारधाराका सरकारहरू छन् ।








प्रतिक्रिया