
काठमाडौं, १२ साउन । धेरैले आशा र महत्वका साथ हेरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । प्रमुख अथितिका रुपमा बिहान साढे दश बजेका लागि निम्ताइनुभएका मन्त्री पौडेल करिब अढाइ घण्टा ढिला अर्थात १ बज्नै लाग्दा वीर अस्पताल पुग्नुभयो ।
मन्त्री पौडेल मन्त्री भएको केही दिनपछिदेखि नै पुल्चोकको मन्त्री क्वाटर बस्दै आउनुभएको छ भने उहाँले सम्हालेको मन्त्रालय वीर अस्पतालदेखि करिब एक किलोमिटर मात्र दुरीमा छ । तर मन्त्रीको समय तालिका भने मन्त्री नियुक्त भएदेखि नै फितलो देखिएको छ । उहाँले सचिवालयलाईसमेत व्यवस्थित गर्न सक्नुभएको छैन । उहाँको सचिवालयमा रहेकाहरुलाई कहाँ, कुन कार्यक्रम छ भन्नेसमेत जानकारी नहुने गरेको निकटहरु बताउने गर्छन् ।
वीर अस्पतालको कार्यक्रमा सहभागी एक चिकित्सकले आशा गरिएका मन्त्रीको फितलो समय व्यवस्थापनले स्वास्थ्य मन्त्रालयबाट आश गर्ने अवस्था कमजोर बन्न सक्ने आँकलन गर्दै भन्नुभयो, ‘बिदाको दिनको कार्यक्रममा त मन्त्रीको समय यस्तो छ, अरु दिन के होला ? आयोजक र सहभागीहरुलाई कुराएर हैरान बनाउँदा सबैले आश गरेका मन्त्रीलाई आफै असहज हुनुपर्ने हो ।’
अस्पतालको वार्षिकोत्सवको उद्घाटन गर्न मन्त्री पौडेल एक बज्न लाग्दामात्र अस्पताल परिसरमा पुग्नुभएको थियो । ‘मुलुककै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालमा करिब २२ सय कर्मचारी छन् । सम्भवत मन्त्री नियुक्त भएपछि उनको पहिलो पटक भव्य औपचारिक समारोह हुनुपर्छ । तर अढाइ घण्टासम्म मन्त्रीको उपस्थिति नहुँदा केही मिडियाकर्मी र सहभागी फिर्ता हुनुपरेको थियो ।’ एक सहभागीले भन्नुभयो ।
पौडेलको सचिवालयले भने आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ५ मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जानुभएका उहाँलाई सोही कार्यक्रममा आयोजकले तीन घण्टा ढिला गरी कार्यक्रम सुरु गरेका कारण वीरको कार्यक्रममा आउन ढिला भएको बतायो ।
‘बिहान ८ बजेलाई कार्यक्रम तय भएको थियो तर ११ बजेमात्र सुरु भयो । मन्त्रीज्यूको समय व्यवस्थापन फितलो भएको होइन, आयोजकले समयमा ख्याल नगर्दा केही समस्या आएको हो ।’ सचिवालयले प्रष्टिकरण दिँदै भन्यो । तर वार्षिकोत्सव समारोहलाई भनेर अस्पतालका चिकित्सक एवम स्वास्थ्यकर्मीहरु बिरामीको उपचार छाडेर कार्यक्रममा सहभागी थिए । मन्त्री ढिला पुग्दा सहभागी भन्दापनि बिरामीलाई सकस परेको थियो ।
स्वास्थ्यमन्त्रीको समय व्यवस्थापनबारे पत्रकार भिसा काफ्ले लेख्नुहुन्छ, ‘दुई घण्टादेखि स्वास्थ्यमन्त्रीको पर्खाइमा वीर अस्पताल तर मन्त्रीको अझै अत्तोपत्तो छैन । मन्त्रीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी, त्यो पनि साह्रै झुर ।’
त्यस्तै, अर्का पत्रकार अर्जुन अधिकारी सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘प्रदीप पौडेलले स्वास्थ्यमा काम गर्दैनन् भन्ने स्पष्टै छ । वीरका कार्यक्रम अवमूल्यन गर्दै किथ्रे कार्यक्रम उद्घाटनमा होलान्, उनको पर्खाइमा दुई घण्टादेखि वीरमा ।’
मन्त्रीको अस्तव्यस्त समय तालिका व्यवस्थापनमा सचिवालयले भूमिका खेल्नुपर्ने शुभेच्छुकहरुले सुझाव दिएका छन् । उहाँको सचिवालयमा मन्त्री नियुक्त भएको एक साता बढी हुँदासम्म जिम्मेवार व्यक्ति को हो ? भन्नेसम्म तय भएको छैन् ।









प्रतिक्रिया