
काठमाडौं, १२ साउन । खोटाङ काहुलेका गणेश राईको दुवै हात कुहिनासम्म मात्र छन् । तर उहाँको साहस र क्षमता असीमित छ । गणेशको उज्यालो र हँसिलो मुहार देख्दा कसैलाई पनि उहाँको शारीरिक अवस्थाको अनुमान लगाउन गाह्रो पर्छ । तर जब उहाँका कुहिनाहरू कम्प्युटरको की-बोर्डमा तीव्र गतिमा नाच्न थाल्छन्, तब हरेक व्यक्ति आश्चर्यचकित हुन्छ । यो असाधारण क्षमता देखेर स्वयं नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि मन्त्रमुग्ध हुनुभएको थियो ।

गणेशको शैक्षिक यात्रा खोटाङबाटै अघि बढेको थियो । दिक्तेल क्याम्पसमा अध्ययन गरिरहनुभएका उहाँको प्रतिभा र लगनशीलता देखेर स्वर्गीय मिलन राई र भैरव राईले उहाँलाई काठमाडौंमा थप अध्ययन र कामको अवसर दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।

एमाले नेता खोटाङका पूर्वसांसद विशाल भट्टराई, स्वर्गीय मिलन र भैरवले गणेशलाई प्रधानमन्त्री ओलीसँग भेट गराउनुभयो जसले गणेशको जीवनमा ठूलो परिवर्तन ल्यायो । गणेश र ओलीको छुट्टै कुनै साइनो छैन, एउटै साइनो छ- संवेदनाको साइनो ।
प्रधानमन्त्री ओलीले गणेशको क्षमता र सम्भावना देख्नुभयो । ओलीले गणेशलाई न केवल एक कर्मचारीको रूपमा नभई अपांगता भएका व्यक्तिहरूका लागि एक रोल मोडलको रूपमा हेर्नुभयो ।
प्रधानमन्त्री ओलीले गणेशलाई आफ्नो सचिवालयमा काम गर्ने अवसर दिनुभयो । तर गणेशको जीवनमा उतारचढाव आउन भने छोडेन । तात्कालीन समयमा ओलीको बहिर्गमनसँगै प्रचण्ड प्रधानमन्त्री भएपछि गणेशको हातमुख जोड्ने बाटो हरायो । उहाँ जागिरबाट निकालिनुभयो, फेरि ओलीको पुनरागमनपछि गणेशले जागिर पाउनुभयो । फेरि ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै दोस्रोपटक प्रचण्डले गणेशलाई हटाउनुभयो । तर गणेशले हार मार्नुभएन । उहाँको दृढता र क्षमताले उहाँलाई फेरि माथि उठ्न सहयोग गरिरर्यो ।
अहिले ओली फेरि चौथोपटक प्रधानमन्त्री बन्नुभएपछि उहाँले गणेशलाई खोजी गर्नुभयो । यसपटक ओली प्रधानमन्त्री भएर कार्यालय आउँदा गणेश नदेखेपछि ओलीले गणेशलाई खोजेर आफूले नियुक्त गर्न पाइने आफ्नो सचिवालयमा नियुक्त गर्नुभयो ।
‘आरोप विल्कुलै हैन, केपी ओली प्रधानमन्त्रीबाट हटाइएपछि गणेशलाई पनि हटाइयो । दु:खले जीविका गर्दै हुनुहुन्थ्यो, फेरि केपी ओलीनै दोस्रो कार्यकालको लागि प्रम भएर सिंहदरबार फर्केपछि मात्र गणेशको जागिर जोडियो । फेरि केपी ओलीलाई हटाइयो, गणेशलाई पनि हटाइयो । अहिले प्रमको रुपमा सिंहदरबार आएपछि केपी ओलीले दुई हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ, गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ ।’ एमाले नेता भट्टराई फेसबुकमा लेख्नुहुन्छ, ‘सहसचिव विनोद कुँवरले आफैले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिंहदरबार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुनः जागिरको निरन्तरता भयो । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने रहेछ !’










प्रतिक्रिया