
काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।
बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै पत्र कार्यान्वयनमा नै नगएको दाबी गर्नुभएको छ ।
झाले पैसाको कारोबार नै नभएको बताउँदै भन्नुभयो, ‘यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’
उहाँले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफूहरु सचेत भएर बसेको बताउनुभयो ।
उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्वजनिक भएपछि विवादमा पर्नुभएको थियो । उहाँले सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबीसमेत गरिएको छ ।








प्रतिक्रिया