
काठमाडौं, १० साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।
बुधबार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताउनुभयो ।
नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दाबी गर्नुभयो । उहाँले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उहाँलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो । यस क्रममा केही सांसदहरुले गाली पनि गरेका थिए ।
संसदमा एलोन मस्क पनि अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालो दिन भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतंकवादी हमला भएको थियो ।
यसैगरी, बन्धकहरुलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गर्नुभएको छ ।
नेतान्याहुले युद्ध समाप्त भएपछि गाजामा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताउनुभएको छ ।
यसैगरी, उहाँले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गर्नुभएको छ ।








प्रतिक्रिया