२२ जेष्ठ २०८३, शुक्रबार

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई शैक्षिक संस्थामा लगानीको सम्झौता गरेको छ । लगानी विविधिकरण रणनीतिअनुसार कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको जनाएको छ ।

आइतबार काठमाडौंमा सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले सम्भौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रु ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उहाँले बताउनुभयो ।

कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेशकुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः- जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउँदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताउनु भयो । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको बताउनुभयो ।

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध रहेका बताउनुभयो । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले यस सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै विन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसका साथसाथै उहाँले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताउनुभयो ।