
काठमाडौं, ६ साउन । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त हुनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औं वार्षिक साधारणसभामा साविक नेतृत्वले उहाँलाई अध्यक्ष नियुक्त गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त हुनुभएको छ । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरु संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ ।
मञ्चको कार्यसमिति सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, बिलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुबिन श्रेष्ठ नियुक्त हुनुभएको ट । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रुपमा रहनुहुन्छ ।
पद तथा गोपनीयताको शपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना ‘भिजन २०२५’ सार्वजनिक गर्नुभएको छ । उत्कृष्टता, प्रगति र नवीनतालाई जोड दिएको उहाँको कार्ययोजनाको लक्ष्य मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्न सक्ने तहमा पुग्ने गरी सशक्तीकरण गर्नु रहेको छ । “आगामी वर्षका लागि मञ्चका सदस्यलाई उच्चतम लाभ दिलाउन आकांक्षा थिम प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु ।” नवनियुक्त अध्यक्ष श्रेष्ठले भन्नुभयो । यो थिम चयन गरेर नयाँ नेतृत्वले मञ्चका सदस्यको व्यक्तिगत र सामूहिक आकांक्षालाई स्वीकार गरेको उहाँले बताउनुभयो । “आकांक्षाले उत्कृष्टता, प्रगति र नवीनताको हाम्रो अथक प्रयासलाई जनाउँछ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
मञ्चका हरेक पहल, कार्यक्रम र गतिविधिले सदस्यहरुले पाउने लाभको मात्रा बढाउने, व्यक्तिगत एवं पेसागत प्रगतिलाई सघाउने कुरा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेटवर्किङ, सिकाइ तथा विकास, प्रगति र संस्थाको प्रवद्र्धन तथा ब्रान्डिङलाई श्रेष्ठले प्राथमिकताको क्षेत्र भन्नुभएको छ ।
नयाँ कार्यसमितिले मित्र प्रणाली, मेन्टरसिप कार्यक्रम, मिनी ओलम्पिक, उद्यमशीलतासम्बन्धी छलफल, खेल गतिविधि, मनाङसम्मको मोटर र्याली र अन्तर्राष्ट्रिय यात्राका कार्यक्रमहरु गर्नेछ । घोषित लक्ष्यप्राप्तिका लागि अन्तर्राष्ट्रिय स्तरका वक्ताको प्रवचन, कक्षाकोठा र प्रयोगमा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन गर्ने योजना छ । च्याप्टर संख्या हालको १३ बाट १७ र सदस्य संख्या १५०० पुर्याउने नयाँ कार्यसमितिको लक्ष्य छ ।
अध्यक्ष श्रेष्ठले संस्थाको सफलता र व्यक्तिगत प्रगतिका लागि मञ्चका कार्यक्रमहरुमा सबै सदस्यलाई सक्रिय सहभागी हुन आग्रह गर्नुभयो । चुनौतीका बाबजुद सबै प्रयासमा उच्चतम मूल्य प्राप्त गर्ने सामूहिक आकांक्षा राख्न पनि सदस्यहरुलाई सुझाउनुभयो । सोही सत्रलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हुँदा आशावादी रहन उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्रालयले सरकारसँगका अपेक्षा के के छन् भनेर निजीक्षेत्रसँग सुझाव मागेको पनि उहाँले सुनाउनुभयो ।
मन्त्रालयले समस्याको गहिराई पत्ता लगाउँदै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, पूर्वमन्त्री, सचिवहरु र पार्टीका घोषणापत्रका आधारमा साझा निष्कर्ष निकालेर लगानीमैत्री वातावरण निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संशोधित विधानले महासंघका कार्यसमितिमा मञ्चको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको बताउनुभयो । आगामी साधारणसभाबाट संशोधन पारित भएपछि महासंघ कार्यसमितिमा नेपाल युवा उद्यमी मञ्चको अनिवार्य प्रतिनिधित्व रहने उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा उद्यमशीलता प्रवद्र्धनमा मञ्चको योगदान प्रसंसनीय रहेको बताउनुभयो ।
मञ्चका संस्थापक अध्यक्ष गौरव अग्रवाल र निवर्तमान अध्यक्ष सहारा जोशीले आर्थिक वृद्धिलाई अगाडि लैजान र दिगो विकासका लगि सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरलाई सम्मानित गरिएको थियो । ललितपुर च्याप्टरले बेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ उपाधि पायो भने जनकपुर च्याटरलाई बेस्ट रिभाइभिङ च्याप्टरको रुपमा सम्मानित गरिएको थियो । रुपन्देही च्याप्टरले बेस्ट आइडिया एन्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्त रुपमा बेस्ट च्याप्टरको अवार्ड पायो ।
हाल देशभर मञ्चका १३ च्याप्टर छन् भने ८५० भन्दा बढी युवा उद्यमी सदस्यको रुपमा आबद्ध छन् । मञ्चमा आवद्ध उद्यमीबाट सञ्चालित उद्योग, व्यवसायमा ३० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।








प्रतिक्रिया