५ श्रावण २०८३, मंगलबार

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, ५ साउन । जिल्लाको सिराहा नगरपालिका–१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो ।

सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व सङ्लकन गरेको सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिनुभयो । कार्यालयले गत आवमा रु ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो ।

सापकोटाका अनुसार आव २०८०/८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाई रु पाँच करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो । चालु आवमा रु १२ करोड १२ लाख ९२ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ ।

भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउनुभयो । “भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठूला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो”, उहाँले भन्नुभयो ।

आव २०७९/८० मा रु १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा रु नौ करोड ३६ लाख १० हजार मात्र सङ्कलन भएको थियो । चोहरर्वा–सिराहा खण्ड विस्तार ढिलाइ हुदाँ यस क्षेत्रको व्यपारमा असर परेको सापकोटाको बुझाइ छ ।