२ असार २०८३, मंगलबार

मन्थली–२ का सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २ साउन । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

वडा कार्यालयले वडाका सबै कार्यालमा क्यामरा जडान गरेको कार्कीले बताउनुभयो । ३ लाख रुपैयाँमा कार्यालयसहित वडा भित्रको निलकण्ठेश्वर मावि कठजोरसहित चारवटा विद्यालय, कठजोर स्वास्थ्य चौकी, पशु सवा कार्यालय, नवनिर्मित कृष्णलाल पार्कलगायतका स्थानमा क्यामरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

सबै कार्यालयका गतिविधि थाहा पाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यसले सहयोग पुग्ने कार्कीले विश्वास व्यक्त गर्नुभयो । सुरक्षाको हिसाबले पनि यसले सहयोग पुग्ने उहाँको धारणा छ ।

त्यस्तै, सामुदायिक अध्ययन केन्द्र र सहरी स्वास्थ्य केन्द्र टेकानपुरसमेत (सिसी) क्यामेराको पूर्ण निगरानीमा रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । प्रविधिको प्रयोग गर्दै वडाका आम नागरिकहरूलाई सुरक्षित राख्न लागि अब वडा कार्यालयबाटै निगरानी राखिने उहाँको भनाई छ ।

साथै सबै कार्यालयमा हुने गतिविधिहरूलाई समेत वडाबाटै विशेष निगरानी गर्न सहज भएको छ । विद्यालय तहमा शिक्षक र विद्यार्थीहरूको अब निगरानीको लागि त्यहाँसम्म धाउन नपर्ने र कमी कमजोरी पनि सजिलै प्रमाणसहित पत्ता लगाउन सहज भएपछि शिक्षकहरू पनि सजग हुने विश्वास लिएको छ ।

वडा भित्रका नागरिकहरुको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएका युवा वडा अध्यक्ष कार्कीले वडाभित्रका मठ, मन्दिरको संरक्षण, खानेपानीको सहज पहुँचको काम गर्दै आउनुभएको छ ।