३२ असार २०८३, बिहिबार

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य अनुहार सहित स्टेजबाट सेक्रेट सर्भिस अफिसरको सहयोगमा हावामा मुट्ठी हल्लाउँदै बाहिरिएको दृश्यले अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको माहोल नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।

शनिबार ट्रम्पले अमेरिकाको पेन्सिल्भेनियामा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली चलेको थियो । यो र्‍यालीमा पटक पटक गोली चलेको आवाज सुनिएको थियो । घटनामा ट्रम्पको कानको छेउमा गोली लागेको थियो ।

गोलीको आवाज आएपछि अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई सुरक्षा कवचमा लगे र तुरुन्तै उहाँलाई स्टेजबाट उतारेर कारमा लगे । यस क्रममा रगताम्य देखिएका ट्रम्पले आफ्नो मुट्ठी समातेर आफ्ना समर्थकहरूलाई हौसला प्रदान गरेको देखियो । घटनास्थलबाट बाहिरिने क्रममा ट्रम्पको दाहिने कानमा हात थियो, जहाँबाट रगत बगिरहेको थियो ।

राजनीतिक हिंसाको यो चकित पार्ने घटनाले अमेरिकाको चुनावी अभियानमा प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ । अमेरिकी गोप्य सेवाका एजेन्टहरूले ट्रम्पमाथि आक्रमण गरेको आशंका गरिएका व्यक्तिमाथि गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

हावामा मुट्ठी हल्लाउँदै घाइते ट्रम्पको तस्वीर तत्कालै उहाँका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो । उहाँले लेख्नुभएको छ, ‘यो अमेरिकालाई चाहिने लडाकु हो ।’

गोलीबारी लगत्तै राष्ट्रपति जो बाइडेन टिभीमा आउनुभयो र अमेरिकामा यस प्रकारको राजनीतिक हिंसाको लागि कुनै ठाउँ नभएको बताउनुभयो । उहाँले आफ्नो प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवारको लागि चिन्ता व्यक्त गर्नुभयो र ट्रम्पसँग कुरा पनि गर्नुभयो ।

बाइडेनको चुनावी अभियानले तत्कालका लागि सबै राजनीतिक आरोपहरु रोकेको छ र ट्रम्पप्रति आक्रामक रहेका टेलिभिजन विज्ञापनहरू सकेसम्म चाँडो हटाउँदैछ । यस समयमा ट्रम्पलाई राजनीतिक रूपमा आक्रमण गर्नु गलत हुने उनीहरुको विश्वास छ । बरु उनीहरु शनिबारको घटनाको निन्दा गर्नमा केन्द्रित छन् ।

अमेरिकाका सबै राजनीतिक दलका नेताहरू, जो अरू कुनै कुरामा सहमत नहुन सक्छन्, अहिले लोकतन्त्रमा हिंसाको कुनै ठाउँ छैन भनी एकसाथ भनिरहेका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरू बराक ओबामा, जर्ज डब्लु बुश, बिल क्लिन्टन र जिमी कार्टरले तुरुन्तै हिंसाको निन्दा गर्दै ट्रम्पलाई गम्भीर चोट नलागेको भन्दै घटनाको निन्दा गर्नुभएको छ । तर ट्रम्पका केही निकटतम सहयोगी र समर्थकहरूले यस हिंसाको लागि राष्ट्रपति बाइडेनलाई दोष दिइरहेका छन् ।

रिपब्लिकन पार्टीका एक नेताले सामाजिक सञ्जालमा एक पोस्टमा राष्ट्रपति बाइडनलाई ‘हत्यालाई उक्साएको’ आरोप लगाउनुभएको छ । सिनेटर जेडी भान्सले बाइडेनको चुनावी अभियानको बयानबाजीले यो घटनालाई प्रत्यक्ष रूपमा निम्त्याएको आरोप लगाउनुभएको छ ।