
काठमाडौं, २८ असार । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब महाप्रबन्धकमा सुभाष जमरकटेल बढुवा हुनुभएको छ ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी १ साउनदेखि लागु हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गर्नुभएको अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमासमेत रही विभिन्न पदमा कार्य अनुभवी रहनुभएको छ ।
यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गर्नुभएका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहनुभएको छ । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिनुहुन्छ ।
उहाँले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ्ग र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गर्नुभएको छ ।
उहाँहरु दुवै जना आफ्नो बैंकिङ्ग करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिनु हुन्छ ।








प्रतिक्रिया