
काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले बितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो ।
प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
प्रचण्डले आज बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।
सुरुवाती चरणमा एमाले अधक्ष्य केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको नेताहरु बताउँछन् । यद्यपि सहमति भएको आज ११ दिन बित्दासमेत आजसम्म सहमति पत्र कुनै पनि दललले सार्वजनिक गरिसकेका छैनन् ।








प्रतिक्रिया