
काठमाडौं, २७ असार । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव गर्नुहुनेछ । अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नुहुनेछ ।
त्यसैगरी, भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।









प्रतिक्रिया