२४ कार्तिक २०८३, मंगलबार

रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहार गरी युवकको हत्या, ४ जना पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २६ असार । रौतहटको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ ।

ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ को सहबाजमिया आलमको पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ ।

ईशनाथ-२ औरेयास्थित गेट अगाडि आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर गएराति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमाण्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटनास्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताउनुभएको छ ।

जघन्य किसिमले युवकको हत्याको प्रकृति हेरेर गरिएको खबर अनुसार रातिनै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो ।

प्रवक्ता गिरीकाअनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए । त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । पक्राउ परेका चारै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ताको जस्तो देखिएकाले मृतक पनि प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतीय सीमामासँग जोडिएको रौतहटका गाउँहरुमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ ।