
काठमाडौं, २६ असार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।
आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभएको छ ।
नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको छ ।
काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रकाअनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ ।
सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरेटोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।








प्रतिक्रिया