
काठमाडौं, २५ असार । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुटसम्बन्धी योजना सार्वजनिक गरेको हो ।
बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाका ऋणीहरूले सम्पूर्ण कर्जा रकम यही असार महिनाभित्रमा चुक्ता गर्दा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममासमेत छुट प्रदान गर्ने योजना ल्याएको जनाएको छ ।
बैंकले जारी गरेको सूचनाअनुसार भाखा नाघेको ९१ दिनदेखि १८० दिनसम्म सम्पूर्ण कर्जा चुक्ता गरेमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढीमा ३५ प्रतिशत छुट दिने योजना रहेको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नुभएका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।









प्रतिक्रिया