
काठमाडौं, २४ असार । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइएमइ पे तथा प्रभु पे ले ‘केवाइसी जरुरी छ’ साझा अभियानको थालनी गरेको छ । सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्याएर नेपाललाई डिजिटल रूपान्तरण गर्न यो अभियानले अत्यन्तै ठूलो भूमिका खेल्ने कम्पनीहरुले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि केवाइसी प्रमाणीकरण अनिवार्य रहेकोले जनमानसमा केवाइसीको महत्त्वबारे सचेतना फैल्याउन यो अत्यन्तै आवश्यक कदम हो । केवाइसी डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो र कालो धन शुद्धीकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नको लागि अनिवार्य रहेको छ ।
आर्थिक वर्ष २०८१/२०८२ को सुरुवातदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाइसी प्रमाणीकरण अनिवार्य रुपमा गर्नु पर्ने नियम नेपाल राष्ट्र बैंकको रहेको छ । केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरुको सञ्चालनको रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ र पश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने व्यहोरा रहेको छ ।
नेपालको डिजिटल रूपान्तरण गर्न गरिएको यो साझेदारीको बारे बोल्दै नेपालको पहिलो भुक्तानी सेवा कम्पनी इसेवा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का भन्नुहुन्छ, ‘डिजिटल भुक्तानी सेवालाई सरल बनाएर इसेवा प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्न केवाइसी एकदम महत्वपूर्ण कदम हो । प्रयोगकर्ताहरूलाई डिजिटल ठगीबाट जोगाउँनका साथै गैरकानूनी गतिविधिहरूको लागि डिजिटल वालेटको दुरुपयोग गर्ने जस्ता कार्यहरू रोक्न केवाइसी प्रमाणीकरण अत्यन्तै महत्वपूर्ण रहेको छ ।’
यसैगरी, खल्ती भुक्तानी सेवाका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ, ‘सारा नेपालीको वित्तिय समावेशिताको लागि बिगत ७ वर्ष भन्दा बढी देखि काम गर्दै आएको यस खल्ती डिजिटल वालेटले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कुनै पनि डिजिटल वालेटबाट भुक्तानी गर्न केवाइसी भेरिफिकेसन अनिवार्य भएको कारण सबै नेपालीको वित्तिय सहभागिताको लागि प्रमुख डिजिटल वालेटहरुको यो सहकार्य एक कोसेढुंगा सावित हुन्छ भन्नेमा म विश्वस्त छु । साथै यो सहकार्यमा नेपाल राष्ट्र बैंकलगायत सम्पूर्ण नियामक निकायहरूबाट सहयोगको अपेक्षासमेत गरेको छु ।’
सहज र सुरक्षित भुक्तानीको लागि केवाइसीको भूमिकाबारेमा आइएमइ पेका प्रमुख कार्यकारी अधिकृतले प्रवीन रेग्मी प्रष्ट पर्दै भन्नुभयो, ‘केवाइसी गर्नु भनेको पारदर्शी वित्तीय लेनदेन र भ्रष्टाचार विरुद्धको पहिलो कदम हो ।’
सबै नेपालीलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउन यो अभियानले खेल्ने भूमिका बारे प्रभु पे का प्रमुख कार्यकारी अधिकृत बिक्की शाही भन्नुहुन्छ, ‘क्यास-लेस कारोबार सहजीकरण गर्नका लागि केवाइसीको महत्वपूर्ण भूमिका रहनेछ र अनलाइन ठगी बाट ग्राहकहरूलाई बचाउन साथै जानेर वा अन्जानमा हुने अपराधिकरण कृयाकलाप रोक्न पनि केवाइसीको विशेष भूमिका रहनेछ ।’








प्रतिक्रिया