
धनगढी, २३ असार । गत बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ ।
पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाकाअनुसार बझाङको तमेलमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो । दार्चुलाको शैलेशिखर नगरपालिका-६ पर्नेवासमा पहिरो गएको छ । खोड्पे-दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो ।
बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका-९ बाजपानीमा पनि पहिरो गएको छ ।
यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ रुवाखोलामा पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो ।
डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन् । रुख ढलेकाले जोगबुढा-बुडर सडकको आलिताल गाउँपालिका-८ सुनखोलामा सडक अवरुद्ध भएको छ ।
उता, अछामको साँफेबगर नगरपालिका-१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ ।









प्रतिक्रिया