
काठमाडौं, २३ असार । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा हुनुहुन्छ । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।
१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा हुनुभएको थियो । राजा विलेम-अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । रुटले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ । उहाँका कर्मचारीहरूले उहाँलाई हल्लाउँदै बिदाई गर्नुभएको छ । रुट प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उहाँको फोटो र भिडियो खिचिरहेका थिए ।
करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानुहुनेछ, जहाँ उहाँले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नुहुनेछ ।
उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उहाँले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
ब्रसेल्समा ३२ सदस्यीय गठबन्धनको मुख्यालयमा भएको बैठकमा नाटोका राजदूतहरूले रुटेको नियुक्तिलाई अन्तिम स्वीकृति दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका समकक्षी नेताहरूले जुलाई ९ देखि ११ सम्म वाशिंगटनमा शिखर सम्मेलनमा उहाँलाई औपचारिक स्वागत गर्नुहुनेछ ।
नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्रीले अक्टोबर १ मा नर्वेका वर्तमान महासचिव जेन्स स्टोल्टनबर्गको स्थान लिनुहुनेछ । स्टोल्टनबर्ग एक दशकभन्दा बढी समयसम्म नाटोको महासचिव पदमा हुनुहुन्थो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि उहाँको कार्यकाल थपिएको थियो ।








प्रतिक्रिया