
बुटवल, २३ असार । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आइपीओसमेत जारी गर्ने प्रस्तावसहित आ.व ०७९/८० को आर्थिक प्रतिवेदन, आ.व ०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारणसहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचनसमेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगतबहादुर पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, अन्य बोर्ड सदस्यहरुमा दिपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित हुनुभएको छ ।
यसैबीच, कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ ।
साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटनसमेत गर्नुभएको थियो ।
कम्पनीका उप-कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठकाअनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिनेछ ।
गत चैत ८ गतेबाट औपाचारिक रुपमा बुटवलबाट सेवा सूरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै एक दर्जन शाखा तथा उपशाखामार्फत निर्जिवन बीमा सेवा प्रदान गरेको छ ।








प्रतिक्रिया