
काठमाडौं, २२ असार । राष्ट्रिय सभाका पुर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत)का पार्टी सचिव वाङ चुनचङबीच शनिबार भेटवार्ता भएको छ ।
चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत पुग्नुभएका पूर्वअध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीच ल्हासामा भएको भेटवार्तामा दुई देशको आपसीहितका सम्बन्धमा महत्वपूर्ण कुरा भएको हो ।
भेटका अवसरमा अध्यक्ष नेपालको विकासमा चीन सरकारले पुर्याएको सहयोग लागि धन्यवाद दिँदै चीनसँग जोडिएका सीमानाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
यसैगरी, नेपालबाट हाइलेज (घाँस), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल, बीउ, बिरुवा र प्रविधि उपलब्ध गराउन आग्रह गर्नुभयो ।
सचिव वाङले नेपालको बिकासमा चीन सरकारको निरन्तर निःशर्त सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने, सबै सीमा नाकाहरु नियमित सञ्चालन गर्न र पुर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाउनुभयो ।
साथै उहाँले चीनको एक चीन नीतिप्रति नेपालको समर्थन र नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिद्धताको उच्च प्रशंसा गर्नुभयो ।
तिब्बतका पार्टी सचिव वाङले पूर्वअध्यक्ष तिमिल्स्निाको सम्मानमा रात्रीभोजको पनि आयोजना गर्नुभयो ।








प्रतिक्रिया