
जनकपुर, २२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनुहुने भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज प्रदेश सभामा विश्वासको मत लिन लाग्नुभएको हो ।
मधेश प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
जनमत पार्टीसँग प्रदेश सभामा १३ प्रदेश सभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभामा बहुमत पाउने पक्का भएको छ ।
मधेश प्रदेश सभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र)का नौ, नेकपा (एकीकृत समाजवादी)का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेश सभा सदस्य छन् ।








प्रतिक्रिया