
हेटौंडा, २२ असार । बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।
सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौं जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै, भीमफेदी-फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
इन्द्रसरोवर-५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी-फाखेल-मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यस्तै, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ ।
ललितपुरको बागमती गाउँपालिका-३ पाङजुरे (भट्टेडाँडा नजिक)मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
त्रिभुवन राजपथ, हेटौंडा-फापरबारी-सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।








प्रतिक्रिया