२४ असार २०८३, बुधबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २२ असार । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निन्तर वर्षाका कारण करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका-बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ ।

कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

‘लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन ।’ प्रहरी नायव उपरीक्षक यादवले भन्नुभयो ।

वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका-२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

मालढुङ्गा-बेनी सडक अवरुद्ध

यसैगरी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका-१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।