१७ असार २०८३, बुधबार

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै, नेपालका विभिन्न स्थानमा कार्यक्रम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । जुलाई महिनाको पहिलो शनिबार अर्थात् अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।

‘सहकारीले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछ’ नारासहित अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले पनि विभिन्न कार्यक्रम तय गरिसकेको छ ।

नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३०औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाइँदै छ ।

आईसीएको आह्वानमा विश्वभरका सहकारीहरुले सन् १९२३ देखि हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार यो दिवस मनाउने गरिन्छ । सन् १९९५ मा संयुक्त राष्ट्र संघ (यूएन)को महासभाले समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै यस दिनलाई संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा समेत मनाउने घोषणा गरेको थियो ।

राष्ट्र संघले यस दिवसलाई औपचारिकरुपमा आत्मसात गरेपछि सन् १९९५ देखि आइसीए र यूएन अन्तर्गतको सहकारी प्रवद्र्धन र विकास सम्बन्धी समिति (कोप्याक)ले संयुक्तरुपमा अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् । दिवसले अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र अन्य सरोकारवाला निकायहरु बीचको साझेदारीलाई सुदृढ र विस्तार गर्न सहयोग पुर्याउने आईसीएको विश्वास रहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसलाई विभिन्न विषय र प्रकृतिका सहकारीले सदस्य र समुदायको दिगो भविष्य निर्माण गर्न खेलेको भूमिका र सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु (एसडीजी) कार्यान्वयन गर्ने प्रयासमा पुर्‍याएको योगदान देखाउने अवसरकोरुपमा सदुपयोग गर्न आईसीएले आग्रह गरेको छ ।

यसैगरी, नेपालमा राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन आफ्नो स्थापना दिवस मनाउने गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान तथा उत्कृष्ट सहकारी पुरस्कार प्रदान गर्ने गरेको छ । शनिबार दिउँसो राष्ट्रिय सहकारी महासंघले आफ्नो कार्यालय पुल्चोकमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।